Friday, August 12, 2016

अन्तरास्ट्रिय युवा दिवसको अवसरमा २० जनालाई रास्ट्रिय युवा प्रतिभा सम्मान

२८,श्रावण– राष्ट्र निर्माणमा योगदान पुर्‍याएका विभिन्न क्षेत्रका युवा व्यक्ति तथा तिनका संस्थालाई सरकारले राष्ट्रिय युवा प्रतिभा सम्मानद्वारा सम्मान गरेको छ ।
काठमाडौंमा शुक्रबार आयोजित कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारी, युवा तथा खेलकुदमन्त्री दलजित श्रीपाइलीलगायतले २० व्यक्ति तथा संस्थालाई नगदसहित सम्मान गर्नुभएको हो । 
अन्तर्राष्ट्रिय युवा दिवसको सन्दर्भ पारेर राष्ट्रिय युवा परिषदले आयोजना गरेको कार्यक्रममा सम्मानित हुनेमा समाजसेवा क्षेत्रका लागि हास्य कलाकार जोडी सीताराम कट्टेल ‘धुर्मुस’ र कुञ्जना घिमिरे जोडीको धुर्मुस–सुन्तली फाउन्डेसन, व्यावसायिक कृषिबाट गुल्मीको पैँचो पसल प्रालि, वातावरण तथा सरसफाइका लागि खाँदबारी, सङ्खुवासभाका डा राजु अधिकारी छन् । 
कृषि पशुपालनका लागि हाल पोखराका व्यवसायी मकवानपुर निवासी दीपक तिमिल्सिना, कला र संस्कृतिका लागि ‘कालोपोथी’ चलचित्रका निर्देशक मीनबहादुर भाम, वैज्ञानिक खोज अनुसन्धानका लागि कार्‍भेपलाञ्चोककी डा सुमन सत्याल छन् ।
चित्रकला र सङ्गीतका लागि अपाङ्गता भएका अमीर लामा, कला र सङ्गीतका लागि शिव परियार, कृषि फलफूलका लागि ओखलढुङ्गाका लोचन बस्नेत, चेलीबेटी बेचबिखन नियन्त्रणका लागि माइती नेपालकी फूलमाया तामाङ छन् । 
त्यस्तै सम्मान पाउनेमा खेलकुद विधाका १० जना पनि रहेका छन् । खेलकुद विधामा सम्मान पाउनेमा फुटबलर नवयुग श्रेष्ठ, उसुकी निमा घर्ती मगर, जुडोकी फूपूल्हामु खत्री,  युवा क्रिकेटर सन्दीप लामिछाने, पारा खेलकुद प्रशिक्षक कुमार पौडेल, एथ्लेटिक्स खेलाडी विपना परियार, पौडीवाज गौरिका सिंह, खोखोका मुख्य प्रशिक्षक रामनारायण राय, तेक्वान्दो खेलाडी निशा रावल र नेपाल ट्राइथलन संघ छन् । पुरस्कृत सबैले एक लाख रुपैयाँ प्राप्त गरे । 
त्यस अवसरमा राष्ट्रपति भण्डारीले राष्ट्रिय युवा नीति र ‘युथ भिजन-२०२५’ एक वर्षभित्र लागू गर्नुपर्ने बताउँदै स्वदेशमै रोजगारी सिर्जना गर्न युवासम्बन्धी थप ठोस कार्यक्रम ल्याउनुपर्नेमा जोड दिनुभयो । देश विकासमा युवा परिचालन गर्न आग्रह गर्दै उहाँले भन्नुभयो, ‘युवा शक्ति पलायन रोक्न सबै वर्ग र समुदायका युवालाई उपर्युक्त प्राविधिक र जीवनोपयोगी शिक्षा दिँदै स्वदेशमै रोजगारी सिर्जना गराउनुपर्छ ।’ 

No comments:

Post a Comment