Wednesday, August 10, 2016

१२ औं पटक मंत्री बन्न लागेका गच्छदार अलपत्र

२६,श्रावन – केपी ओली नेतृत्वको सरकारबाट अन्तिम समयमा बाहिरिएर प्रधानमन्त्री चुनावमा पुष्पकमल दाहाल प्रचण्डलाई मत दिएपनि सत्ता गठबन्धनले बेवास्ता गर्दा फोरम लोकतान्त्रिकको सरकारमा सहभागी हुने योजना अलपत्र परेको छ ।
आफू सहभागी सरकारकै  विपक्षमा आएको अविश्वास प्रस्तावको समर्थन गर्दै नयाँ सरकारमा सहभागी हुने लालचा देखाएका विजयकुमार गच्छदार नेतृत्वको फोरम यता न उताको हुने अवस्थामा पुगेको हो ।
गच्छदार यसअघि उपप्रधानसहित ११ पटक मन्त्री भइसक्नुभएको छ । ओली सरकारमा दोस्रो वरियतामा रहेका गच्छदार गठबन्धन अप्ठेरोमा पर्ने बित्तिकै कित्ता परिवर्तन गरेर कांग्रेस–माओवादीसँग जोडिन खोज्नुभएको थियो । डुंगा डुब्न लाग्दा मुसाले छाडेजस्तै गच्छदारले ओली सरकारलाई छाडे भनेर त्यतिबेला आलोचना समेत भएको थियो ।
तर आलोचना सहेरै उहाँ प्रचण्ड नेतृत्वको गठबन्धनमा उभिनुभयो र फेरि सरकारमा जान खुट्टा उचालेर बस्नुभएको छ । तर फोरम लोकतान्त्रिकलाई सरकारमा सहभागी गराउने विषयमा सत्ता गठबन्धनभित्र चर्को मतभेद देखिएको छ ।
कांग्रेस र संविधानप्रति असन्तुष्टि राख्दै आएका मधेस केन्द्रित दल फोरमलाई कुनै पनि हालतमा सरकारमा ल्याउन नहुने अडानमा छन् भने माओवादी केन्द्र सरकारमा ल्याएर गठबन्धन बलियो पार्नुपर्ने पक्षमा छ ।
तीन बुँदे सहमति गर्दै प्रधानमन्त्री चुनावमा प्रचण्डलाई मत दिएका आन्दोलनरत दल तत्काल सरकारमा नभए पनि संविधान संशोधनको प्रक्रिया सुरु भएपछि मन्त्रिपरिषदमा सहभागी हुने तयारीमा छन् । जसका कारण उनीहरुले सरकारमा गच्छदारलाई सहभागी नगराउन दबाब दिइरहेका छन् । आन्दोलनरत दल र फोरम लोकतान्त्रिकको सम्बन्ध खासै राम्रो छैन ।  
 सरकार गठन भएको एक हप्ताभन्दा बढी भइसक्दासमेत वास्ता नगरेपछि फोरमले सरकारमा सहभागी हुने वा नहुनेबारे छलफल गर्न बिहीबार संसदीय दल र केन्द्रिय कार्यसमितिको संयुक्त बैठक बोलाएको छ । संयुक्त बैठकले नै सरकारमा जाने वा नजानेबारे निर्णय गर्ने फोरम लोकतान्त्रिक ले  जनाएको छ । 
  

No comments:

Post a Comment